काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाट भन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो ।
कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गर्नुभयो ।
कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गर्नुभयो ।
तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो ।
अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उहाँले प्रशंसा गर्नुभयो । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गर्नुभयो ।
यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गर्नुभयो । उहाँले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताउनुभयो ।