काठमाडौँ । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको बैठकले प्रदेश नं. ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने निर्णय गरेको हो ।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगङ्गा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच दाङमा राजधानी राख्ने सहमति जुटेपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले सोहीबमोजिम निर्णय गरेको बताइन्छ ।
यसअघि काङ्ग्रेस नेतृत्वको तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो । प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको राजधानी र नामकरणको निर्णय गर्ने संवैधानिक व्यवस्था छ ।
सात वटा प्रदेशमध्ये प्रदेश ५ ले पनि राजधानीको बारेमा टुङ्गो लगाएपछि अब प्रदेश नं. १ र २ ले मात्रै स्थायी राजधानी तोक्न बाँकी छ ।