काठमाडौं । सरकारले विदेशबाट नेपाली श्रमिक ल्याउने सञ्चालन गरिरहेको चाटर्ड उडान बन्द भएको छ । भोलि (बिहीबार) देखि नेपालीहरु नियमित उडानमै नेपाल आउन पाउने भएका छन् ।
Advertisement
सरकारले विदेशबाट चाटर्ड उडानबाट श्रमिकको उद्धार गर्न सुरु गरेपछि करिब ८७ हजार श्रमिक स्वदेश फर्किएका छन् । ३२ देशबाट चार्टर्ड उडान मार्फत ती नेपाली फर्किएका हुन् ।
विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको छ ।
प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।