काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकबाट जरिवाना नलिने भएको छ ।
ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीहरुलाई बोलाएर जरिवाना नलिन निर्देशन दिनुभएको हो । पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।
प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ । आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताउनुभयो ।
कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिनुभएको हो । मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिनुभएको छ ।
यस्तै मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको छ ।
मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न पनि निर्देशन दिनुभएको छ । त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उहाँको सुझाव छ । लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पार्नुभयो ।