काठमाडौं । मन्त्रिपरिषदले एसिड आक्रमणकारीमाथि कडा कारबाही गर्ने कानुनको मस्यौदालाई स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराध मान्ने र यससम्बन्धी घटनाका दोषीको सजाय माफी मिनाहा नहुने प्रावधान सहितको कानुनको मस्यौदालाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद स्रोतका अनुसार यस सम्बन्धि अध्यादेश छिट्टै जारी हुनेछ । प्रस्तावित मस्यौदामा एसिड आक्रमणबाट कसैको ज्यान गए अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत् राख्ने र अंगभंग/शरीर कुरूपलगायत गराए २० वर्षसम्म कैद हुने उल्लेख छ ।
आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ ।
यस्तै, एसिड बिक्रीवितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनुपर्नेलगायतका प्रावधान प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सरोकारवाला निकाय, एसिड पीडित, अभियन्तासँग एसिड अपराधविरुद्ध कठोर कानुन बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।