काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संसदीय समितिमा आएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ गर्ने गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकमा धारणा राख्दै सांसद पौडेलले संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको बताउनुभयो ।
सांसद पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताउनुभयो । समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टीङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको उहाँको भनाई थियो।
मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनैपनि अयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको पौडेलले बताउनुभयो । कुनैपनि विषयमा समितिले छलफल गर्नुअघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
उहाँले अयोग्य र कामचोरहरुका लागि अहिले कोभिड राम्रो बहाना बनेको बताउनुभयो । कुनैपनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उहाँको दाबी थियो ।
बैठकमा नेपाली कांग्रेसकी सांसद रगंमती शाही, नेकपाका सांसद केदार सिग्देल, नेकपाकै सांसद यज्ञराज सुनुवार, इन्दुकुमारी शर्मालगायतले धारणा राखेका थिए ।
समितिले आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तरगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भीर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने सांसदहरुले बताए ।

