काठमाडौं । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभयो ।
हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको उहाँले बताउनुभयो ।
अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उहाँले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ । त्यति बेला अन्तरमन्त्रालय छानबनि समिति (गृह। परराष्ट र नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर १ किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परेपनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्याहरु सार्वजनकि हुनेछन् ।’
यस्तै, सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्ता क्षेत्र घोषणा गरेको छ । ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पूर्ननिर्माणका काम अगाडी बढाइने उहाँले बताउनुभयो । विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पूर्ननिर्माणको काम सूरु हुने जानकारी उहाँले दिनुभयो ।
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ ।
कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

