काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित २५ हजार भन्दा बढी भए पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लक डाउन गर्न सिफारिस गरेको हो । आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् ।
२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको गौतमले बताउनुभयो । साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
थप ७ को मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।
आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन । यो सँगै आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।