काठमाडौं । नेपालमा कोरोना उपचारको लागि प्रयोग हुने औषधिको उत्पादन सुरु भएको छ । विश्वभरि कोरोना उपचारमा प्रयोग भैरहेको फाविपिराविर २०० औषधि नेपालनै उत्पादन सुरु भएको हो ।
औषधि उत्पादक कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन सुरु गरेको बुधबार जानकारी दिएको छ । यो औषधि नेपालमै पहिलो पटक उत्पादन शुरु गरी उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फाविपिराविर एन्टीभाइरल औषधिलाई विश्वका धेरैे मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन् ।
हालसम्म फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागी बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमती प्रदान गरीसकेका छन् । नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन गरिएको छ ।’
कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ औषधि उत्पादन सुरु गरेको पनि कम्पनीले जनाएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक यो औषधि उत्पादन शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।