काठमाडौं । चीनले हुम्लाको लाप्चामा बनाइएको भवन आफ्नै भूभागतर्फ रहेको दाबी गरेको छ । चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी चीनले नेपाली भूभागमा भवनहरू बनाएको भन्ने समाचारको खण्डन गरेको छ।
विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ। दूतावासले चीन र नेपालबीच सीमा विवाद नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’
हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएपछि विवाद भएको हो । त्यसबारे हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले चिनियाँ समकक्षीसँग छलफलसमेत गरेका थिए ।
यसबारे नेपाल सरकारले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।