काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकको निर्णयानुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उहाँले बताउनुभयो ।
मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कसलाई पठाउने भन्ने विषयमा आवश्यकतानुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।
त्यस्तै, संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको उहाँले बताउनुभयो । सो विषयमा निर्णय भने भएको छैन ।
त्यस्तै, पार्टी एकीकरणका बाँकी कामहरू पूरा गर्ने र सङ्गठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । बैठक भोलि १ बजेका लागि पुनः बोलाइएको छ ।