रवि पौडेल
अर्को दसैँ आउँछु आमा
भनी बाटो लागे
नरोउ छोरी राम्रो जामा
तिमलाई ल्याउँछु भनेँ
छोरालाई नि जिनको पाइन्ट ल्याइदिन्छु भनेँ
हुन्छ बस्नुस आमा भनी आफैँ बिदा भएँ ।
जाँदा जाँदा अप्ठ्यारोमा काम मैले पाएँ
भिसा छल्यो दलालले पैसा मात्रै खायो
राम्रो काम मिल्छ भनी नराम्रोमा पार्यो
हतारोमा विदेश जान मैले पनि खोजेँ
अनगिन्ती बाटो थिए खाडी नै रोजेँ ।
एक वर्ष जनतन बिताएको थिएँ
कमाएको थोरै पैसा घरमै पठाइदिएँ
दसैँ नजिक आउँदै छ आउँछु आमा भनेँ
खुसी हुँदै आमाले नि फोन राख्नुभयो
भोलिपल्ट जीवन मेरो सर्वनास भयो ।
यो खबर साथिभाइले घरमा पुर्याउँछन्
कम्पनीको मालिकले नि लास पठाउँछन्
दसैँमा आउँछु भनी उठिगा’को थियोे
फर्की आउँदा बाकसमा किन बेरिई आयो ?
नेपालीको जीवन यसरी नै गयो ।
समृद्धि र विकासले आकास छोयो भन्छन्
रोकिएका रेलगाडी नि गुड्न थाले भन्छन्
भत्किएको धरहरा नयाँ बन्यो अरे !
धेरै खान्छन् थोरै गर्छन् सत्ताधारीहरू
जनताको हालत के छ बुझ्दैनन् गोरु ।
छोरो उता विदेशको तातो घामले खायो
माथिबाट पहिरो आर्इ घर पनि लग्यो
गाईबस्तु भैँसी सबै पहिरोमा बगे
सदरमुकाम टाढा पर्छ उपचार छैन
गरिबको राज्यसत्ता कहिले आउने होइन ।
भोकानाङ्गा सडकमा थाल थाप्न थाले
खान बस्न निकै कठिन हुँदै गएको छ
राज्य भन्छ विकासले धुरी छोएको छ
विकासले धुरी हैन, पहिरोले छोयो
छोरो खस्यो ,घर छैन यो मन धेरै रोयो ।
आसा कसको भरोसामा बस्ने अब हामी
राज्यले लुटिसक्यो बगेको पानी
माटो बेची सरकारले सत्ता टिकाउँछ
नागरिकता बेची बेची पैसा कमाउँछ
निकै काम गरेका छौँ भन्दै रमाउँछ ।
आमाको वेदना कसले सुन्छ यहाँ
जन्म जहाँ, मृत्यु कहाँ कसले भन्न सक्छ
सबै कुरा भनौँ भने मुटु मेरो दुख्छ
चिरिएको मुटुभित्र अमिलो नलाऊ
जनता बचाउ देश बचाउ बेचेर नखाऊ ।