काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अख्तियारको कार्यप्रणालीप्रति गम्भीर असन्तोष प्रकट गरेको छ । अख्तियारले तल्लो तहका सामान्य कर्मचारीहरुप्रति केही कारवाही गरेपनि उच्च र राजनीतिक तहमा भएको भ्रष्टाचारहरुलाई दबाउने काम गरेको मसालको ठहर छ ।
शुक्रबार एक वक्तव्य प्रकाशित गरी मसालले अख्तियारको औचित्यताप्रति नै प्रश्न उठ्न थालेको भन्दै अख्तियारलाई निष्पक्ष, र प्रभावशाली बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
नेकपा (मसाल) को हालै बसेको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा एमसीसी पास गर्ने सत्तारुढ दलको निर्णप्रति आपत्ति जनाइएको छ ।
यस्तै, कोरोना नियन्त्रणमा सरकार असफल बन्दै गएको र सरकारले नै भ्रष्टाचारको संरक्षण गरिरहेको भन्दै कडा विरोध गरेको छ ।
यस्तो छ वक्तव्य :
‘१. नेकपा (मसाल) को केन्द्रीय कार्यालयको बैठक हालै सम्पन्न भयो । त्यो बैठकले गरेका निर्णयहरुबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।
२. नेकपाको स्थाई समितिको बैठकले केही संशोधनहरु सहित एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको निर्णयलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । हाम्रो स्पष्ट र दृढ मत छ कि यो (एमसीसी) नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका विरुद्ध छ । त्यसैले त्यसलाई पुरै अस्वीकार गर्नुपर्दछ ।
३.हाम्रो पार्टीले आफ्नो पार्टीको स्वतन्त्र पहलकदमीमा र अन्य पक्षहरुसित मिलेर पनि एमसीसीको विरोध गर्दै आएको छ र हाम्रो त्यो नीति अहिले पनि कायम छ । उक्त विषयमा व्यापक रुपले आवाज उठाउनको लागि हामीले सबै देशभक्त वामपन्थी र साम्राज्यवादविरोधी शक्तिहरुसित अपिल गर्दछौँ । त्यसका साथै त्यसका विरुद्ध कुनै पनि पक्षद्वारा गरिने आन्दोलनप्रति हाम्रो पुरै समर्थन हुने कुरा पनि हामीले स्पष्ट गर्न चाहान्छौँ ।
४. कोभिड–१९ एउटा अन्तर्राष्ट्रिय स्तरको नै सरुवा रोग भएकाले र देशमा पनि त्यसको संक्रमणले महामारीको रुप लिदैँ जाने संभावना भएको हुनाले त्यसको सम्पूर्ण दायित्व र खर्च समेतको जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्दछ । तर सरकारले त्यस सम्बन्धि कतिपय खर्च स्थानीय निकायहरुमाथि लगाउने र अब त्यसका लागि जनताले पनि शुल्क दिनुपर्ने जुन नीतिअपनाएको छ, हामीले त्यसको कडा शब्दमा विरोध गर्दछौँ ।
५.देशमा भ्रष्टाचार बढीरहेको र त्यसलाई सरकारले नै संरक्षण गर्ने जुन नीति अपनाएको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा बिरोध गर्दछ । हामीले जनतासित भ्रष्टाचारका विरुद्ध व्यापक रुपले आवज उठाउनका लागि अपील गर्दछौँ ।
६. अख्तियारको कार्यप्रणालीप्रति पनि हाम्रो पार्टीले गम्भीर प्रकारको असन्तोष प्रकट गर्दछ । त्यसले तल्लो तहका सामान्य कर्मचारीहरुप्रति केही कारवाही गरेपनि उच्च र राजनीतिक तहमा भएको भ्रष्टाचारहरुलाई दबाउने काम गरेको देखिन्छ । त्यसले गर्दा अख्तियारको औचित्यताप्रति नै प्रश्न उठ्न थालेको छ । हामीले अख्तियारलाई निष्पक्ष, शासक र प्रभावशाली बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
७. अहिले कोरोना भाईरस बढ्नुका साथै त्यसबाट नाजायज फाइदा उठाउन कालो बजारी, नाफाखोरी र महङ्गी समेत अनियन्त्रित प्रकारले बढ्दै गइरहेको छ । त्यस सन्दर्भमा सेनिटाईजरको हानिकारक रुपमा उत्पादन र बजारमा भइरहको बिक्रि–वितरण पनि एउटा उल्लेखनीय उदाहरण हो ।
यसरी बजारमा बढी रहेको कालोबजारी, नाफाखोरी, महङ्गी र स्वास्थ्यलाई हानीकारक सामग्रीहरुको उत्पादनमा समेत प्रभावकारी अनुगमन र नियन्त्रण गर्दा सरकार असमर्थ भएको छ । बैठकले पार्टीका आन्तरिक र संगठनात्मक विषयहरु बारे पनि समिक्षा गर्दै कतिपय महत्वपूर्ण निर्णय गरेको छ ।‘