काठमाडौं । ललितपुरमा नक्कली नोट दिएर दुई व्यक्तिले साढे चार लाख रुपैयाँ भन्दा बढीको गहना खरिद गरेका छन् ।ललितपुर महानगरपालिका–१४ ताल्छीखेल स्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिएका हुन् ।
Advertisement
उनीहरुले नक्कली नोट दिएर बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो ।
बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको छ । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।





