खिमराज चालिसे
Advertisement
झुक्नुपरे झुकिदिउँला साथी,
धानको बाला पनि त झुक्छ।
सुक्नैपरे सुकिदिउँला साथी,
मुहानको पानी पनि त सुक्छ।।
कोही खुसी हुन्छ भने साथी,
बरु मेरो मनको आँसु बगोस् ।
भन्छु के छ र जिन्दगी साथी
म मरे पनि मेरो याद त रहोस् ।।
दुखीको सधै ँसेवा गर्न सकुँ,
बरु आफू आधी पेट खाउँला।
नाङ्गोलाइ लगाउन दिन सकुँ,
बरु आफैले फाटेको लाउँला ।।
नबनुँ कसैका लागि म कसिङ्गर,
बरु आँखैको नानी बन्न सकुँ ।
म मरेर जाउँला तर पनि साथी
सबैको प्यारो दिलमा बस्न सकुँ ।।
म मरेर पनि कोही बाँच्छ भने
म पनि हाँसी हाँसी मर्न सकुँ ।
चार दिनको जिन्दगी हो साथी,
राम्रै याद रहने काम गर्न सकुँ ।।
सबैको प्यारो त के हो साथी,
अप्ठ्यारो पनि त बन्न सकुँला ।
दुर्इ शब्द कोर्दै चित्त बुझाउँछु,
भोलि फेरि रहुँला नरहुँला ।।