काठमाडौं । बजारमा बिक्री वितरण भइरेहका कतिपय स्यानिटाइजरमा घातक विषाक्त पदार्थ भेटिएको औषधि व्यवस्था विभागले जनाएको छ । बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न विभागले अपिल गरेको छ ।
कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ ।
गतहप्ता ५ र हिजो मात्रै थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र बिक्री वितरण नगर्न सूचना जारी गरिएको विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो ।
मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको उहाँको भनाई छ ।
विभागले ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।
अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक ढकालले अपिल गर्नुभयो ।
उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।