तिलक थापा, बुर्तिवाङ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं २ अर्नाकमा पहिरोले घर बगाउँदा मृत्यु भएकी किशोरी पुजा परियारको परिवारलाई राहत वितरण गरिएको छ ।
राज्यको तर्फबाट जिल्ला प्रशासन कार्यालय बागलुङले मृतकको घरमै पुगेर आमा पुनम परियारलाई दुई लाख १५ हजार र राजमोले पाँच हजार रुपैयाँ राहत दिएको हो ।
जिल्ला प्रसासन कार्यालयको प्रतिनिधिका रुपमा इलाका प्रसासन कार्यलय बुर्तिवाङका प्रमुख लोक बहादुर कुवँरले पीडित परिवारलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तमबहादुर घर्तीले पार्टीको तर्फबाट राहत रकम हस्तान्तरण गर्नुभयो ।

भदौ ९ गते घरमाथिबाट आएको पहिरोले घर बगाउँदा १९ वर्षीया पुजाको च्यापिएर मृत्यु भएको थियो । पुजाकी आमा र तीन भाइबहिनी अहिले आफन्तको घरमा बसिरहेका वडाअध्यक्ष युवराज महतले जानकारी दिनुभयो ।
पुजाका बुवा प्रकाश परियार वैदेशिक रोजगारीमा गएका छन् । लकडाउनका कारण उनी स्वदेश फर्किन नसकेको वडाअध्यक्ष महतले बताउनुभयो ।