खुम रायमाझी, अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा किर्ते गरेर राहत रकम बुझ्ने ६ जना पक्राउ परेका छन् । नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहत रकम बुझ्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहत रकम लिने भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका ६ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
उनीहरुले पहिरोले घर भत्किएको भनेर भुकम्पमा भत्किएका घरका फोटो समेत राखेर नक्कली मुचुल्का तथा वडा कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यलयबाट १५ हजारका दरले राहत रकम बुझेका थिए ।
वडा कार्यालयले समेत अनुगमन नगरि सिफारिश गरिदिएको हो । वडाका सचिव तुल्सिराम पोख्रेलले भिडभाडका बेला स्थलगत अनुगमन गर्न नभ्याईएको र मुचुल्काको आधारमा सिफारिश बनाईदिएको बताउनु भयो ।
प्रशासनले स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले बताएको छ ।