काठमाडौं । सरकारले लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै ५० प्रतिशत बढी बाभा लिन पाउने बताएको छ । आगामी असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन हुँदैछ ।
यसअघि कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो । यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो ।
चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ । असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो । निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिट क्षमताको ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशतसम्म बढी भाडा लिने व्यवस्था यथावत रहेको जनाएको हो ।
मन्त्रालयले लामो दूरीको यातायात सञ्चालनका लागि छुट्टै कार्यविधि बनाउने तयारी पनि गरेको छ । गाडीमा यात्रुको संख्या र सुरक्षा, खाना खाने व्यवस्था, बिच बाटोमा थप यात्रु चढाउने वा नचढाउने लगायतका विषयमा छिट्टै कार्यविधि बन्ने मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि लामो दूरीको यातायात ठप्प हुँदा व्यवसायीले असोज १ गतेदेखि आफैँ सञ्चालन गर्ने चेतावनी दिएपछि सरकारले ५ गतेदेखि सञ्चालनको अनुमति दिएको हो । तर, सिट संख्याको ५० प्रतिशत मात्रै यात्रु बोक्न र थप ५० प्रतिशत भाडा लिन पाइने व्यवस्था गरिएको छ ।
यद्यपी सरकारले छोटो दूरीका यातायातमा पनि सोही नियम लगाएको छ । तर अनुगमन नहुँदा कोचाकोच यात्रु राखेर बढी भाडा लिने गरिएको सर्वसाधारणको गुनासो छ ।