काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्राधिकरणबाट विदाइ गरिएको छ । कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल पुरा गरेका घिसिङलाई मंगलबार प्राधिकरणका कर्मचारीले एक विशेष कार्यक्रम आयोजना गरि विदाइ गरेका हुन् ।
कार्यक्रममा कर्मचारीहरुले कुलमानको कार्यकालमा धेरै चुनौतिको बाबजुद पनि प्राधिकरणले ठूलो फड्को मारेको बताएका थिए ।
आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताउनुभयो ।
उहाँले अबको १५ दिनमा पुनः प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नै स्वागत गर्न पाइओस् भनी आशा व्यक्त गर्नुभयो ।
विदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले घिसिङले कार्यकारी निर्देशकको रुपमा मात्र नभई प्राधिकरणमा २६ वर्षदेखि दिएको महत्वपूर्ण योगदान तथा सेवा गौरव गर्न लायक रहेको बताउनुभयो ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो ।
कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री वर्षमान पुन कुलमानलाई पुनः कार्यकारी नियुक्त गर्न इच्छुक छैनन् ।