काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा सोमबारदेखि १९ औं सत्याग्रह सुरु गर्नुभएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै बारम्बार सत्याग्रहमा बस्दै आएका डा. केसीले कर्णालीमा सत्याग्रह सुरु गरेको यो दोस्रो पटक हो । यसअघि २०७५ असार अन्तिम साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सत्याग्रह बस्नुभएको थियो ।
डा. केसीले यसपटकको सत्याग्रहमा कर्णालीका साथै काठमाडौंबाहिरको चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको मागलाई उठाउनुभएको छ।
अछामको बयालपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरेर दिगो रूपमा सञ्चालनको सुनिश्चितता गरिनुपर्ने, कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरेर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २, गण्डकी प्रदेश र डोटी वा डडेलधुरा, इलाम वा पाँचथर र उदयपुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गरिनुपर्ने, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा सुधार गर्नुपर्ने लगायत माग समेटिएको छ ।
डा. केसीले पछिल्लो समय कर्णालीमै ‘डाक्टरी’ (एमबीबीएस) अध्ययन सुरु हुनुपर्ने मुद्दालाई प्रमुखताका साथ उठाउनुभएको छ । चिकित्सा शिक्षा अध्ययनको प्रमुख उद्देश्यसहित करिब एक दशकअघि स्थापना भएको सरकारी स्वामित्वको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एममबीबीएसको अध्ययन अनुमति नदिएर सरकारले कर्णालीलाई उपेक्षा गरेको केसीको भनाई छ ।
कर्णालीमा एमबीबीएस कार्यक्रम सफल भए काठमाडौंमा मेडिकल कलेज खोलेर व्यापार गर्ने प्रणालीमाथि प्रश्न उठ्ने भएकोले सरकार अनिच्छुक देखिने गरेको उहाँले बताउनुभयो ।

