काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ देखि चलाउने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
लामो समयको निषेधाज्ञा खुलेर जनजीवन विस्तारै सहज बन्दै गए पनि लामो दुरीको यातायात र आन्तरिक उडान खुलेको थिएन । सरकारले अन्तर्राष्ट्रिय उडान भने यसअघि नै खुला गरिसकेको छ ।
चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो । कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो ।
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस
सरकारले सत्तारूढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त एकपदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
२०७४ साल मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न २०७६ फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो ।
सो निर्णय आलटाल गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गौतमकै प्रस्तावमा आफ्नो पद गुम्नबाट जोगिएपछि गौतमलाई राष्ट्रियसभामा लैजान तयार भएका थिए ।