काठमाडौं । सांसदहरुले महिलाहरुलाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा सांसदहरुले सुरक्षाका कारणले खाडी मुलुकमा महिलालाई पठाउन नहुने बताएका हुन्।
बैठकमा सांसदहरु देवेन्द्र पौडेल, प्रकाश रसाईली (स्नेही), मुकुन्द न्यौपाने, निरुदेवी पाललगायतलेृ आफ्नो धारणा राख्दै खाडी मुलुकमा नेपाली महिलाले दुःख र पिडा मात्रै पाउने तथा यहाँ आएर पनि त्यस बारे खुलस्त भन्न नसक्ने भएकाले उनीहरुमाथि अन्याय भइरहेको बताएका थिए ।
सांसद देवेन्द्र पौडेलले असहज र असुरक्षित प्रकारले श्रम गर्न जानुपर्ने मुलुकमा पठाउने कार्यलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले घरेलु कामदारको रुपमा खाडी मुलुकमा गएर धनि हुने स्थिति नहुने र महिला श्रमिकलाई असामान्य पिडा मात्रै हुने भएकाले श्रम गर्न जानका लागि प्रेरित गर्न नहुने बताउनुभयो ।
यस्तै, सांसहरुले अवैध रुपमा विदेश गएका र अलपत्र परेका नेपालीलाई एक पटकका लागि सरकारकै खर्चमा स्वदेश फर्काउन माग गरेका छन् ।
सरकारले भने कोभिड १९ संक्रमण पछि विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई उद्दार गरेपनि अवैधानिक रुपमा गएका र विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गर्न कानून अनुसार नमिल्ने बताउँदै आएको छ ।