बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल उमपमहानगर समितिले कोरोना संक्रमणको फैलावट रोक्न प्रभावकारी व्यवस्थापन र उपचारको समुचित प्रवन्ध मिलाउन माग गरेको छ । महामारीबाट परेको असर न्युनिकरण गर्न राजमो उपमहानगर समितिले विभिन्न सुझावहरु समेत पेश गरेको छ ।
उपमहानगर समितिका अध्यक्ष तुलसीराम शर्माले सोमबार विज्ञप्ति प्रकासशित गरी १० बुँदे मागसहितका सुझाव प्रस्तुत गर्नुभएको छ ।
यस्ता छन् सुझावका बुँदा
१) स्वदेश भित्रिने जो कसैलाई संक्रमण मुक्त भएको ग्यारेन्टी नहुँदासम्म आइसोलेसनमा रहने प्रवन्ध मिलाउने र कोभिड १९ को संक्रमणको तुलनामा आइसोलेसन कक्षको सुविधा कम भएकोले तुरुन्त विस्तार गरी शंकाष्पद व्यक्तिलाई आइसोलेसनमा रहने व्यवस्था मिलाउने ।
२) कोभिड १९ उपचार गर्ने अस्पतालहरुको स्तर उन्नती गर्ने, भेन्टिलेटर र वेड संख्या बढाउने ।
३) महामारीको फैलावट हेरी व्यापक रुपमा निशुल्क PCR test को व्यवस्था मिलाउने ।
४) कोरोनाको उपचार हुने अस्पतालहरुमा सर्वसाधारणको सहज पहु“च सुनिश्चित गर्ने ।
५) उपचार र व्यवस्थापनसँग सम्वन्धित जनशक्तिलाई व्यक्तिगत सुरक्षाका उपकरणहरु, जोखिम भत्ता अविलम्व उपल्ब्ध गराउने ।
६) बन्दाबन्दीका कारण आय आर्जनको स्रोत नभएर मर्कामा परेका सर्वसाधारण नगरिकलाई तुरुन्त राहत उपलव्ध गराउने ।
७) बन्दाबन्दीले मर्कामा परेका व्यवसायीलाई अविलम्ब कर, ब्याज तथा घर भाडामा सहुलियत हुनु पर्ने र भुक्तान गर्ने अवधि थप गनुपर्ने ।
८) कोभिड १९ का कारणले रोजगारी गुमाएर स्वदेश फर्केका नागरिकलाई स्वरोजगार बनाउन ठोस पहल हुनु पर्ने ।
९) महामारीका कारण उत्पन्न त्रासको वातावरण अन्त्य गर्न र आत्मवल दरिलो बनाउन आवश्यक सूचना तथा सन्देशहरु सम्प्रेशण गर्ने ।
१० महामारी नियन्त्रणमा लागेको खर्चको पारदर्शिता कायम गर्न आवधिक रुपमा सर्वजनिक गर्नु पर्ने ।