डडेल्धुरा । डडेल्धुराको आलितालमा भएको सालको वन फडानी प्रकरणमा प्रहरीले प्रदेश सांसदका आफ्नै भाइ तथा स्वकीय सचिव रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका भाइ एवं स्वकीय सचिव शर्मानन्द जोशीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
सांसद जोशीका भाई शर्मानन्द बस्ने घरबाट अवैध काठ बरामद गरिएको थियो । यद्यपी उक्त घर सांसद जोशीकै भएको स्थानीयले बताएका छन् ।
भदौ ८ गते आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशी बस्ने घरबाट ५७ घनफिट काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । भदौ ४ गते आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा एक सय १० थान गोलिया काठ बरामद गरिएको थियो ।
सोही प्रकरणमा भदौ ५ गते सामुदायिक वनका अध्यक्ष र एक जना मजदुरलाई हिरासतमा लिइएको थियो । यस्तै उग्रतारा कन्स्ट्रक्सन नामक निर्माण कम्पनीमा कार्यरत तीनजना पनि हिरासतमा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।