काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले भर्खरै सरकारले फुकुवा गरेको जमिनको कित्ताकाँटसम्बन्धी नीतिलाई किसान विरोधी बताएका छन् । उनीहरूले सरकारको सो नीतिलाई सन्देहास्पद, अविश्वसनीय तथा कृषि र किसान विरोधीसमेत बताएका हुन् ।
२०७७ भदौ २३ गत संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरू यस्तो दावी गरेका हुन् । वक्तव्यमा देशमा विभिन्न भागमा दुहुना र गर्भिणी गाई मर्दै जाँदा दुधकिसान मर्कामा परेकाले रोगको उपचारका साथै क्षतिपूर्ति दिन माग गरिएको छ ।
आगामी भदौ २५ गतेको भर्चुअल राष्ट्रिय भेलाको समेत जानकारी दिइएको सो वक्तव्यमा अगाडि भनिएको छ–
“किसान र कृषिको हितमा प्रष्ट र पारदर्शी विकल्प बिना रोक्का गरिएको जमिनको कित्ताकाँट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अविश्वसनीय तथा कृषि र किसान विरोधी छ । यसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने किसिमले भूउपयोग गर्न किमार्थ मद्दत गर्दैन । अतः किसानमारा उदारवादी अर्थनीति र भूमाफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिइयोस् । किसान र कृषिको व्यापक हितमा भूउपयोग राष्ट्रिय नीति ल्याइयोस् भन्ने हामी चार किसान सङ्गठन जोडदार माग गर्दछौँ ।
अज्ञात रोगले नेपालका विभिन्न भागमा दुहुना र गर्भिणी गाईहरू भटाभट मर्दै गएको र दुधकिसानहरू ठुलो नोक्सानी पर्न गाएकोमा हामी चिन्तित छौँ र सरकारले गाईमा लागेको यो रोग शीघ्र पत्ता लगाई उपचार गरोस् । पीडित किसानलाई उचित क्षतिपूर्ति प्रदान गरी राहत देओस भन्नेसमेत जोडदार माग गर्दछौँ ।
पूर्व निर्णयानुसार चार किसान सङ्गठनले संयुक्त रूपमा यही भाद्र २५ गते दिनको १२ बजेदेखि आयोजना गरेको “नेपालको कृषि र किसानका समस्या” विषयको राष्ट्रिय भेला ‘गुगल मिट’ मा आमन्त्रित चारै किसान सङ्गठनका साथीहरूलाई सहभागी भई यसलाई सार्थकताका साथ सफल तुल्याउन संयुक्त आह्वान गर्दछौँ ।”
वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।