काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीसँग उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले निजी क्षेत्रका अगुवाहरुसँग गरेको छलफलका क्रममा उद्योगी व्यवसायीहरुले कोरोनालाई धेरै ठुलो हौवा बनाइएको भन्दै प्रधानमन्त्रीसँग यसलाई हौवाको विषय नबनाई जनजीवन सहज पार्न आग्रह गरेका थिए ।
युवराज खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिएसँगै अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीसँग व्यवसायीले कोभिड–१९ को सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएका थिए ।
छलफलमा उद्योगी व्यवसायीका नेताहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छा सहभागी थिए भने पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयेगका उपाधयक्ष पुष्पराज कँडेल, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री, राज्य मन्त्री, अर्थमन्त्रालयका अधिकारीहरु सहभागी थिए ।
त्यस क्रममा व्यवसयाीहरुले सरकारले विद्युतीय गाडीमा बढाएको कर फिर्ता गर्नु पर्ने, पुनर्कर्जाकोषलाई हाल ५० अर्ब रुपैयाँ वृद्धि गर्दै १ खर्ब बनाइएकोमा त्यसलाई २ खर्ब बनाउनुपर्ने, बैंकको ब्याज घटाउनुपर्ने, एक वर्षको सरकारको विभिन्न शीर्षकको नवीकरण शुल्क मिनाह गर्नु पर्ने, विद्युतको महहशुल घटाउनुपर्ने लगायतका माग राखेका थिए ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको भन्दै कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनुभएको थियो । उहाँले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउनुभयो । सरकारले केवल कर असुलीमा मात्र ध्यान नदिएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको स्पष्ट पार्दै नेपालमा कामको कमी नरहेको बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार निजी क्षेत्रका नेतृत्वकर्तासँग सुझाव र परामर्शका लागि छलफल आयोजना गरिएको हो।





