काठमाडौँ । नेपाल पत्रकार महासङ्घले काभ्रे शाखाका सदस्य एवम् राष्ट्रिय समाचार समितिका संवाददाता राजाराम कार्कीमाथि भएको कुटपिटको विरोध गरेको छ । २०७७ भदौ २१ गते नै महासचिव रमेश विष्टको हस्ताक्षरमा प्रेसविज्ञप्ती जारी गर्दै पत्रकार महासङ्घले विरोध गरेको हो ।
पत्रकारमाथि आक्रमण हुन आफैमा निन्दनीय र प्रेस विरोधी काम भएको बताउँदै महासङ्घले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसित माग गरेको छ ।
प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ–
“नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सदस्य एवम् राष्ट्रिय समाचार समितिका वरिष्ठ संवाददाता राजाराम कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरापालिका–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कुलमा शिक्षकको रूपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासङ्घ काभ्रे शाखाका अनुसार आज बिहान ९ः३० बजे बनेपा नगरपालिका–८ बसपार्क नजिकैको हार्डवेयर पसलमा घरायसी सामान खरिद गर्ने क्रममा निज उद्धव कार्कीले पुरोना हिसाबकिताब गर्नु छ भन्दै पत्रकार कार्कीमाथि सोही पसलमा रहेका सामग्रीले एक्कासी टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए ।
कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु आफैँमा निन्दनीय र प्रेस विरोधी काम हो । महासङ्घ पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रूपमा काम गर्ने वातावरण मिलाउन महासङ्घ सम्बन्धित निकायसँग माग गर्दछ ।
साथै, महासङ्घ घाइते पत्रकार राजाराम कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”