एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक वर्षका एक बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन् । फतेहगन्जको भोलापुर गाउँका स्थानीय किसान धर्मपालका एक वर्षीय छोरा देवेन्द्रले ६ इन्च लामो करेत सर्पको बच्चा निलेका हुन् ।
घटना शनिबार दिउँसोको हो । जब खेलिरहेका ती बच्चाको मुखमा उनकी आमाले केही बस्तु देखिन् उनले हतपत बाहिर निकालिन् । त्यो जिउँदो सर्पको बच्चा थियो ।
त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे । इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे । डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएको बताए।
डाक्टरले तत्काल बच्चालाई इमर्जेन्सी वार्डमा भर्ना गरे र एन्टी स्नेक इन्जेक्सन दिए । टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।