यस्तै रहेछ प्रदेशी लाहुरेको यो जीवन ।
लाहुरको पाहुरसम्म यात्रा रहेछ जीवन ।।
पीडै पीडा र दुःखै दुःखको निशानी हो लाहुर।
मुटूभरी पीडा वोक्छु छैन केही नी पाहुर ।
झोलाभरी सामान नारीवल मीश्री र जीरा।
सित्तैमा आएजस्तो लाग्थ्यो थाहै भएन पीडा।।
बाबा र दाजु लाहुरे बनेको खुसी सम्झेर ।
बल्ल थाहा पाए हजुर आफैँ लाहुरे बनेर।।
सित्तैमा केही नपाइँदो पो रहेछ यो लाहुर ।
मैले कसरी लैजाउँ आफन्तलाई पाहुर।।
खाई राखेका इष्टमीत्र आशा गर्ने होलान् ।
लाहुरेको पीडा र बेदना सुनेर को रोलान्।।
सोचे भन्दा फरक रैछ लाहुर भन्ने थाहा भयो।
घरबाट खबर आउँछ ठुलो पाटो साउले लयो।।
एउटा सानो खरको झुप्रो ढुंगा लाउने आस।
लाहुर साह्रै गाह्रो रहेछ छैन खाने गास ।।
न गर्नु है संगी साथी रहर जान लाहुर ।
टुहुरो झैँ भइन्छ के ल्याउ गाउँमा पाहुर।।
त्यो खरको झुप्रो भनी पहिला हेला गरेँ मैले ।
चारहातको सानो कोठा भाडा तीर्छु अहिले।।
कामै मात्र प्यारो हुँदो रहेछ आमा लाहुर ।
फर्की छिट्टै घर जाने मन छ छैन तर पाहुर।।
पहिले गाउँमा खुसी हुन्थे जान पाउँदा लाहुर ।
खुसी हुँदै बाँड्थ्यौं आमा लाहुरको त्यो पाहुर।।
मसला र मिश्री अनी बाँड्थ्यौं आमा जीरा।
रित्तै झोला आउला आमा बोकेर यो पीडा ।।
न घरमा टीन लगाए न झोलामा छ पाहुर ।
वाक्कै दिक्क लाग्दो रैछ आमा यस्तो लाहुर।।
बाबा आउँदा ल्याउनु हुन्थ्यो वाकस भरीया।
मैले भने ल्याउन पाईन आमालाई फरीया ।।
बाबा आउँदा लाग्थ्यो मलाई पैसा बोटमै फल्छ।
अहिले आफैँ लाहुर देख्दा मनमा आगो बल्छ।।
सडक छेउमै बास हुँदो रहेछ बरै लाहुर ।
धेरै आसा अस्ताई सके छैन आमा पाहुर।।
पानी सम्म किन्नपर्ने केही नपाइने लाहुर ।
आँटोढिडो सुखमै खाम्ला ल्याईन आमा पाहुर।।
जुना चालिसे (चंडीगढ़)