काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बिहीबार थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा ४ महिला र २ जना पुरुष रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२, रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै रुपन्देहीका ६५ र सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ।
जम्मा संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेका छन्। आज नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

