काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा पुनः मनोनित गर्ने तयारी गरिरहेका बेला संविधानविद् डा. भिमार्जुन आचार्यले भने संसदको एउटै कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद बन्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
सामाजिक सञ्जालमा ट्विट गर्दै आचार्यले संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै नगरेको बताउनुभएको छ ।
आचार्यले ‘कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ ’ भन्ने प्रश्न पनि गर्नुभएको छ ।
संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन । कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन ।
— Bhimarjun Acharya (@BhimarjunPhD) September 3, 2020
अर्थमन्त्री डा. खतिवडाको राष्ट्रिय सभाको कार्यकाल सकिनै लाग्दा प्रधानमन्त्री ओलीले पुनः खतिवडालाई नै मनोनित गर्ने तयारी गरेपछि सत्तारुढ नेकपामा फेरि विवाद चुलिएको छ ।
ओली इतर पक्षले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान दबाब दिइरहेका छन् भने ओलीले गौतमलाई सांसद बनाउन इच्छा नदेखाएपछि नेकपाभित्रको विवाद फेरि सतहमा आएको हो ।
त्यही कारण पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारेमा विवाद चर्किएको छ । यस विषयमा अध्यक्षद्वयबीच बुधबार भएको छलफल पनि बिना निष्कर्ष सकिएको थियो।
उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई सिफारिस गर्नुपर्ने अडान राख्नुभएको छ । नेकपाले गएको १४ फागुनमा राष्ट्रियसभाको रिक्त पदमा गौतमलाई नै लैजाने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गौतमले दबाब बढाएको स्रोत बताउँछ ।
तर, प्रधानमन्त्री ओलीले भने वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रालयमा पनि उनैलाई निरन्तरता दिन चाहेका स्रोतले जनाएको छ ।
प्रचण्ड माधव नेपाल खेमाले भने राष्ट्रियसभामा वामदेवलाई लैजाने पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका छन् ।