काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विभिन्न देशमा गरी १९५ जना नेपालीको मृत्यु भएको छ । यो संख्या देश भित्र मृत्यु भएका नेपालीकै हाराहारी हो । शनिबार साँझसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार पछिल्लोपटक कोरोनाका कारण बेलायतमा १ र यूएईमा २ नेपालीको मृत्यु भएको हो ।
शनिबार साँझसम्मको तथ्यांकअनुार १६ देशमा गरी कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १९५ पुगेको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायत देशमा नेपालीमा कोरोना संक्रमण हुने क्रम केही बढेको छ ।
हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म ती देशमा बस्ने ३४ हजार ७ सय १ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३२ हजार ५ सय ११ जना भने कोरोनाबाट मुक्त भइसकेको स्वास्थ्य समितिले जनाएको छ ।
यो संख्या करिब देशभित्रै संक्रमित हुनेको हाराहारी हो । शनिबार सँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण संक्रमित व्यक्तिहरूको कूल संख्या ३७ हजार ३४० पुगेको छ । निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।
५३ हजार ६ सय ९९ नेपालीको उद्धार
विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरूको उद्धार गरिएको गैरआवासीय नेपाली संघअन्तर्गत कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।