काठमाडौं । समता फाउण्डेशनले रौतहटको गरूडा नगरपालिका– ८ का विजय राम चमारको शंकास्पद मृत्युबारे छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेको छ । प्रहरी हिरासतमा मृत्यु भएका चमारको मृत्युले दलित समुदाय विरूद्ध भइरहेको हिंसा, उत्पीडन र विभेद छर्लङ्ग पारेको फाउण्डेसनले जनाएको छ ।
घटना विवरण अनुसार, गरूडा– ८ कै निरञ्जन रामको २०७७ साउन ३२ मा भएको हत्या अनुसन्धानमा इलाका प्रहरी कार्यालय गरूडाले विजय राम चमारलाई हिरासतमा लिएको थियो । हिरासतमै चमारलाई चरम यातना दिइएको, यातनाकै कारण स्वास्थ्य गम्भीर भएपछि नेशनल मेडिकल हस्पिटल वीरगञ्जमा भर्ना गरिएको र उपचारकै क्रममा २०७७ भदौ ११ गते राति उनको मृत्यु भएको थियो ।
प्रहरी सुरक्षामै रहेका चमारको यातनाकै कारण मृत्यु भएको यो घटनाप्रति समता फाउण्डेशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘हिरासतमै यातना र मृत्युको यो घटना संविधानले प्रत्याभूत गरेको मौलिक हक, जीवनमाथिको अधिकार, यातना विरूद्धको हक, स्वच्छ न्यायसम्बन्धी हक तथा मानवअधिकारसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लिखित व्यवस्था विरूद्ध छ । बारम्बार हुने दलित समुदायविरुद्ध भएका यसप्रकारका घटना हुन नदिन समता फाउण्डेसन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’ अध्यक्ष प्रदिप परियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
समता फाउण्डेसनले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई तुरून्त निलम्बन गरि घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई हदैसम्मको कानूनी कारवाही र पीडितलाई न्याय दिलाउन समेत सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
साथै, हिरासतमा हुने गैरकानूनी हत्यालगायत जातका आधारमा दलित समुदाय विरूद्ध हुने सबै प्रकारका हिंसा, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य गर्न पनि आग्रह गरिएको छ ।