काठमाडौं । नेपाल पत्रकार महासंघले देशभर ७१ जना पत्रकार तथा सञ्चरकर्मी कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएको जनाएको छ । महासंघका अनुसार मुलुकका ७ प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले आफ्नो अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका जनाएको छ जसमा केही पत्रकार महिलामा समेत संक्रमण देखिएको छ ।
जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् ।त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।
बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् । यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।
प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।
संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन् । महासंघले सबै पत्रकारहरुको पीसीआर परीक्षण गर्न पनि पुनः माग गरेको छ ।
महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।
दुई सय पत्रकारको कोरोना परीक्षण
यसैबीच विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।

