काठमाडौँ । रौतहट गरुडा नगरपालिका–८ का निरञ्जन रामको हत्या आरोपित विजयराम चमारको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा भएको मृत्युबारे राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता वेद भट्टराईले २०७७ भदौ १२ गते जारी गरेको प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको हो । “निजलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान सुरु गरेको छ” वक्तव्यमा भनिएको छ– “सो क्रममा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपि तथा पोस्टमार्टम प्रतिवेदनको प्रतिलिपि शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल फोरेन्सिक महाराजगञ्जलाई पत्राचार गरिसकिएको छ ।”
त्यस्तै अगाडि वक्तव्यमा भनिएको छ– “यसअघि पनि प्रदेश नं. २ अन्तर्गत धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुर धाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिराहामा रोशन रामको हत्यालगायत शृङ्खलाबद्ध रूपमा दलित समुदायमाथि हत्या, हिंसा तथा जातीय विभेदका घटनाहरू भइरहेको अनुगमनबाट पाइएको छ । त्यसैगरी पछिल्लो समयमा कालिकोट, कैलाली, रुकुम, इलामलगायतका जिल्लामा समेत दलित समुदायमाथि हत्या, हिंसाका घटना भइरहेका छन् ।”
यी घटनाहरू नेपालको संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा ४० बमोजिम दलितको हक, धारा १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ तथा नेपाल पक्ष भएको सबै किसिमको जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९६५ विरुद्ध भएको आयोगको ठहर छ ।