काठमाडौं । कोरोना संक्रमणबाट आज (शुक्रबार) थप चार जनाको मृत्यु भएको छ । भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ज्यान गुमाउने तीन महिला र एक पुरुष छन् ।भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
झापाको कमल गाउँपालिका ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
त्यसैगरी मोरङकी ५६ वर्षीया एक महिलाको पनि शुक्रबार बिहान पौने ४ बजेतिर धरानमा मृत्यु भएको छ । उनमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकले बताएका छन् । योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ।
त्यसैगरी कोरोना संक्रमणको कारण भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि पुगेकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
यता, चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
दम र निमोनियाको समस्या देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। ७ भदौमा अस्पतालमा भर्ना भएकी उनको आज बिहान मृत्यु भएको हो।
आज मृत्यु भएका चारसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८८ पुगेको छ।

