काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले लामो संघर्षको परिणाम संविधानमा र कानुनमा महिलाले थुप्रै अधिकार प्राप्त गरेको बताउनुभएको छ । तर व्यवहारमा अझै पनि महिलाले अधिकार पाउन नसकेको र त्यसका लागि थप संघर्ष आवश्यक रहेको स्पपष्ट पार्नुभएको छ ।
बिहीबार उज्यालो फेडरेसनले आयोजना गरेको महिला जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले अहिलेको संविधानले महिला र पुरुषबलाई समान मानेको बताउनुभयो ।
‘हाम्रो संविधानले महिला र पुरुषलाई समान व्यवहार गरेको छ । संयुक्त राष्ट्रसंघको घोषणा पत्र, जो नेपालसहित १८० राष्ट्रले अनुमोदन गरेका छन्, त्यसले परिभाषित गरेका विषयलाई संविधानले समेटेको छ’ पौडेलले भन्नुभयो, ‘कतिपय सकारात्मक विभेद पनि राखिएको छ । जस्तो कि, महिलालाई राजनीतिमा ३३ प्रतिशत समावेशिता, सामाजिक सुरक्षा, गर्भपतनको हक, बेचविखन विरुद्ध कडा कानुन, सुत्केरी विदा आदी महिलाले प्राप्त गरेका अधिकार हुन् ।’
पौडेलले संविधान र कानुनमा अधिकार प्राप्त भएपनि व्यवहारमा भने अझै महिला ती अधिकारबाट बञ्चित भएको बताउनुभयो । महिलाहरुले नै आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाइरहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘महिलालाई सम्पत्तिमा समान हकको व्यवस्था भएपनि महिलाले नै त्यो प्रयोग गर्दैनन् । बाबा र आमा, दाइ र बहिनी समान हुन् भनिन्छ । तर महिलाले सम्पत्तिको कुरा गरे दाइ भाइसँग सम्बन्ध बिग्रने होकि भन्ने चिन्ताले कुरा गर्न चाहँदैनन् ।’
उहाँले राजनीतिमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेपनि राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलले आफ्नो केन्द्रीय समितिमा त्यसको कार्यान्वयन नगरेको बताउनुभयो।
उहाँले अब पाठ्यक्रममै महिला र पुरुष समान हुन् भन्ने अवधारणा समावेश गर्नुपर्ने बताउनुभयो । अहिलेसम्म पाठ्यपुस्तकमा ‘बाबाले कमाउने काम गर्नुहुन्छ । आमा घरमा भात पकाउनुहुन्छ’ भन्ने खालका विषयवस्तु समावेश गरिएको र त्यसले महिलाको कामलाई महत्व नदिएको उहाँले बताउनुभयो । त्यसैले महिलाले घरभित्र गर्ने काम पनि उत्तिकै महत्वपूर्ण छ भन्ने सन्देश दिन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा अर्का सांसद दुर्गा विक पनि सहभागी हुनुहुन्थ्यो । भर्चुअल माध्यमबाट भएको सो अन्तरक्रिया कार्यक्रममा देशभरका स्थानीय तहका महिला जनप्रतिनिधिहरुले दुवै सांसदलाई उहाँहरुको संघर्षको कथा र महिला अधिकारबारे प्रश्न सोधेका थिए ।
विस. २०४० सालमा विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएका पौडेल महिला संघको जिल्ला सदस्य, केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०५२ सालमा महिला संघको कार्यबहाक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनप्रतिनिधिहरुको प्रश्नको जवाफ दिँदै उहाँले आफ्नो जीवनकालमा महिला अधिकारका लागि गरेका संघर्षबारे उहाँले स्पष्ट पार्नुभएको थियो ।