काठमाडौं । देशभर कोरोना संक्रममितको संख्या तीब्र रुपमा बढ्दै गएको छ । काठमाडौं उपत्यकामा संक्रमणको दर झन् तीब्र बनेको छ । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार उपत्यकामा ३०१ जनामा संक्रमण देखिएको थियो ।
देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो ।
प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ ।