काठमाडौं । साथीको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका एक युवकको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिका–८ जीगडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका १९ वर्षीय विजय महराको हिरासतमै मृत्यु भएको हो ।
गएको साउन ३१ गते निरन्जन रामको घरभन्दा पर बाटो छेउमा घाटी रेटेर हत्या भएको अवस्थामा शव बरामद भएको थियो। सोहि अभियोगमा उनका साथी विजय रामसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
हत्या अभियोगमा प्रहरीले स्थानीय २० बर्षीय अजयकुमार रंजन, १९ बर्षीय विवेककुमार यादव, १९ बर्षीय अर्जुन राम, २० बर्षीय सिकिन्द्र रामसहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो।
विजयको बुधबार मध्यराति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महरालाई भदौ ३ गते स्वास्थ्यमा समस्या देखिएपछि गरुडा अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले उनको पिसावमा इन्फेक्सन भएको बताएको थियो । सोहि दिन उनलाई पखाला र वान्ता पनि भएको प्रहरीको भनाइ छ ।
यता परिवारजनले भने उनलाई प्रहरीले चरम यातना दिएको कारण स्वास्थ्य अवस्था बिग्रेर मृत्यु भएको दावी गरेका छन् ।

