काठमाडौँ । औषधि व्यवस्था विभागले अहिले देशमा अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो ।
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नभएको ढकालको भनाइ छ ।
‘आवश्यक औषधि उपलब्ध छन् । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भए पनि व्यवस्थापन गरिएको अवस्था छ । अभावको अवस्था निश्चित रूपमा देखिएको छैन’ उहाँले भन्नुभयो– ‘नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्क मार्फत काम हुन्छ ।’
चिकित्सकहरूको सल्लाह बिना अनावश्यक रूपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । औषधि सेवनले सधैँ स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उहाँले अनावश्यक रूपमा औषधि सेवन नगर्न आग्रह गर्नुभयो ।
कोरोना भाइरस विरुद्ध नेपालमा कन्ब्यालेसन प्लाज्माको अनुमति दिइएको उहाँले बताउनुभयो ।

