काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्तादेखि जारी निषेधाज्ञा थप हुने भएको छ । त्यसका लागि अहिले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ ।
अघिल्लो बुधबार मध्यरातिदेखि जारी एक हप्ते निषेधको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै छ । तर संक्रमण बढिरहेकाले निषेधको अवधि थप्नुपर्ने निष्कर्षमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी पुगेका छन् । कति दिन निषेधाज्ञा थप्ने भन्ने विषयमा प्रजिअहरुको बैठकले निर्णय गर्नेछ ।
मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा निषेधाज्ञाको प्रभाव र अबको तयारीबारे (ब्रिफिङ) जानकारी गराएका थिए ।तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता लामो निषेधाज्ञा प्रभावकारी भएको र अझै थप्नुपर्ने सुझाव आएको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार अपरान्ह कोरोना संकट व्यवस्थापन जिल्ला समितिमा छलफल पछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय गएका थिए ।
गृहमा एकपटक छलफल गरेर अन्तिम निर्णय गर्ने भन्दै डीसीएमसीको बैठक सकिएको थियो । उनीहरुका अनुसार उपत्यकाका जनप्रतिनिधिले एकसाता निषेधाज्ञा थप गर्न आग्रह गरेका छन्।