काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पार्नुभएको छ । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पार्नुभएको हो ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि नियमित उडानहरु खोल्ने तयारी भएको छ भदौँ १६ (सेप्टेम्बर १) बाट । कुन कुन देशहरु भन्ने भोली फाइनल सूची सार्वजनिक हुन्छ । (मलेसिया युएइ, दक्षिण कोरिया, जापान, हङकङ लगायत हुन सक्छन) । पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित घर जान दिइन्छ ।’
पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उहाँले बताउनुभयो । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उहाँको भनाई छ । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताउनुभयो ।
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो । यस्तै, पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।

