काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि विभिन्न ठाउँमा भएको अभद्र व्यवहार प्रति आपत्ति जनाएको छ । आइतबार राजमो उपाध्यक्ष एंव प्रवक्ता दुर्गा पौडेलले प्रेस वक्तव्य प्रकाशित गरी दाङ,चितवन र काठमाडौं लगायत देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएको अभद्र व्यवहारको विरोध गर्नुभएको छ ।
यस्तो छ वक्तव्यः
‘कोरोनाको उपचारमा संलग्न डाक्टर र नर्सहरुलाई अभद्र व्यवहार भएका समाचार प्रकाशित भएका छन् । केही महिना पहिले दाङमा एक जना नर्सलाई घरधनीले कोठा छोड्न धम्की दिएपछि प्रमुख जिल्ला अधिकारीले घरधनीहरुलाई कारवाही गरिने सार्वजनिक चेतावनी दिनु परेको थियो । फेरि चितवन र काठमाडौंमा पनि त्यसप्रकारका घटना दोहोरिएका छन् ।
कोरोनाको उपचारमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने, छिछी र दुरदुर गर्ने, कोठाबाट निस्कन दबाब दिने, समुदायमै बहिस्कार गर्ने, कार्यस्थलमा हातपात गर्ने, चिकित्सकका विरुद्ध सामूहिक प्रदर्शन गर्ने जस्ता क्रियाकलाप भएका छन् ।
महामारीको समयमा कैयौं कठिनाइका बीच पनि विरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि भइरहेका अभद्र व्यवहारको हाम्रो पार्टीले भत्र्सना गर्दछ । त्यसप्रकारका घटनामा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्न माग गर्दछ ।
काठमाडौं र चितवनमा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने व्यक्तिहरु पहिचान भइसक्दा पनि कुनै कारवाही गरिएको छैन । यसले समुदायमा रहेका अपराधिक सोच भएका व्यक्तिहरुको मनोबल बढेको छ ।
स्वास्थ्यकर्मीको मनोबल माथि उठाउन, उनीहरुलाई काममा खट्ने वातावरण बनाउनको लागि सुरक्षाको सबै प्रत्याभूति गर्नुपर्ने कुरामा जोड दिन चाहन्छौं । कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउनको लागि सबैभन्दा अगाडि खटिएका स्वास्थ्यकर्मीको सुरक्षा नै प्राथमिक दायित्व भएकाले त्यस विषयमा गम्भीर हुन अनुरोध गर्दछौं ।’

