काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन्। समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेपछि गत शुक्रबारसम्म आठ वटा उजुरी प्राप्त भएका हुन्।
गत कात्तिक ९ गते समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरी दिने अन्तिम म्याद कात्तिक १९ गतेसम्म तोकिएको छ। त्यसैले निर्धारित समयभित्र उजुरीको संख्या थप बढ्न सक्ने देखिएको छ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजलासमा कार्यरत छन्। त्यस्तै, डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
प्रस्तावित न्यायाधीशहरूविरुद्ध प्राप्त उजुरीको अध्ययन गरेपछि संसदीय सुनुवाइ समितिले चारै जनासँग उनीहरूको कार्ययोजनाबारे छलफल गर्नेछ। समितिले सुनुवाइ प्रक्रिया पूरा गरी अनुमोदन गरेपछि मात्र उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्।





