काठमाडौं, २ असोज । बढ्दो शैक्षिक खर्च, बेरोजगारी, महँगो आवास र शिक्षा बजेट कटौतीको विरोधमा युरोपका छ देशमा विद्यार्थी आन्दोलन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा भएका प्रदर्शनका क्रममा तोडफोड, आगजनी र प्रहरीसँग झडपका घटना भएका छन्।
फ्रान्समा १७ अक्टोबरमा १४० सहरमा भएको प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएका थिए। प्रदर्शनका क्रममा पसलमा लुटपाट, सवारीसाधनमा आगजनी र लिमोजको ऐतिहासिक सिटी हलमा आगलागी भएको छ। १८ अक्टोबरसम्म करिब १,८०० जना पक्राउ परेका छन् भने ५०० भन्दा बढी सुरक्षाकर्मी तथा दमकलकर्मी घाइते भएको खबर छ।
इटालीमा विद्यार्थीहरूले रोम र ट्युरिनलगायत सहरका विद्यालय कब्जा गर्दै शिक्षामा सरकारी लगानी बढाउन र विद्यालयको अवस्था सुधार गर्न माग गरेका छन्। विद्यार्थी सङ्गठनहरूले ३० अक्टोबरमा राष्ट्रव्यापी हड्तालको घोषणा गरेका छन्।
स्पेनमा बढ्दो घरभाडा र आवास सङ्कटविरुद्ध प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले भाडा नियन्त्रण, घरबाट निष्कासन रोक्न र सस्तो सरकारी आवास निर्माण गर्न माग गरेका छन्।
ग्रिसको राजधानी एथेन्समा विद्यार्थीहरूले होस्टेल अभाव र महँगो भाडाको विरोधमा संसद् भवनअगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। उनीहरूले सरकारी होस्टेल निर्माण, छात्रवृत्ति वृद्धि र विश्वविद्यालयको बजेट बढाउन माग गरेका छन्।
बेल्जियमको ब्रसेल्समा शिक्षा बजेट कटौतीविरुद्ध भएको प्रदर्शनमा १५० जना पक्राउ परेका छन्। यता अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा, बेरोजगारी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै विद्यार्थी तथा युवाहरूले प्रधानमन्त्री एडी रामाको राजीनामा मागेका छन्। पाँच दिनदेखि जारी आन्दोलनमा १६७ जना पक्राउ परेका छन् भने सरकारी भवन र बैंकमा आगजनी भएको छ।
विभिन्न देशका सरकारले हिंसात्मक गतिविधिको निन्दा गर्दै कानुनी कारबाही गर्ने बताएका छन्। विद्यार्थी आन्दोलनले शिक्षा, रोजगारी र आवाससम्बन्धी समस्या युरोपका विभिन्न देशमा गम्भीर बन्दै गएको देखाएको छ।
(एजेन्सीहरूको सहयोगमा)





