बैङ्कक । मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ऊर्जासम्पन्न मध्यपूर्वी देशको अर्थतन्त्रमा सुधार आउन समय लाग्ने जनाएको हो ।
युद्धले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकाले अर्थतन्त्र तत्काल युद्धअघिको अवस्थामा फर्कन नसक्ने आइएमएफका क्षेत्रीय निर्देशक जिहाद अजोरले बिहीबार बताए । इरानबाट सुरु भएको युद्ध साउदी अरब र यमनसम्म फैलिँदा क्षेत्रीय सुरक्षा र आर्थिक गतिविधिमा असर परेको छ । विशेषगरी समुद्री मार्गबाट हुने ऊर्जा ढुवानी प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत चिन्ता बढेको छ ।
अजोरका अनुसार युद्धका कारण विभिन्न आर्थिक क्षेत्रमा दीर्घकालीन क्षति पुग्ने, पूर्वाधार प्रभावित हुने र भविष्यमा यस्ता सङ्कट सामना गर्न थप खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले मध्यकालमा मध्यपूर्वका अर्थतन्त्र युद्धअघिको अवस्थामा फर्कने सम्भावना कम रहेको उनले बताए ।
‘हामी मध्यकालमा युद्धअघिको आर्थिक अवस्थामा फर्कने छैनौँ । यो सङ्कटले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्नेछ; पूर्वाधारमा अवरोध सिर्जना गर्नेछ र भविष्यमा थप जोखिम सामना गर्न खर्च बढाउनुपर्नेछ’ अजोरले पत्रकारसँग भने ।
आईएमएफले मङ्गलवार सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०२६ मा मध्यपूर्व र मध्य एसियाको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । इरान युद्धको प्रत्यक्ष असर परेका यी क्षेत्रमा आर्थिक गतिविधि कमजोर हुने देखिएको हो । त्यस क्रममा साउदी अरबको अर्थतन्त्रमा पनि ठुलो असर पर्ने अनुमान गरिएको छ । आइएमएफका अनुसार सन् २०२६ मा साउदी अरबको अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिन सक्छ । ऊर्जा निर्यातबाट बलियो आम्दानी गर्दै आएको साउदी अरबमा आर्थिक सङ्कुचनको यस्तो अनुमानलाई दुर्लभ आर्थिक मन्दीको सङ्केतका रूपमा हेरिएको छ ।
पछिल्ला दिनमा साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबिचको लडाइँ थप चर्किएको छ । क्षेप्यास्त्र आक्रमणमा विमानस्थल र ऊर्जा पूर्वाधारका साथै साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको मुख्यालयसमेत प्रभावित भएको जनाइएको छ । आक्रमणमा मानवीय क्षति भएको छ । (रासस/एएफपी)





