मेक्सिको । मेक्सिकोको प्रसान्ततटीय क्षेत्रमा आएको आँधी ‘राचेल’ का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठुलो क्षति पुर्याएको हो ।
गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ । मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन् । सैन्य अधिकारीले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिए ।
यसअघि सोमबारसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । त्यस बेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको अधिकारीले बताएका थिए ।
यस वर्ष प्रसान्त महासागरमा एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ । एलनिनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।
यता, मेक्सिकोनजिकै प्रसान्त महासागरमा ‘साइमन’ र ‘ट्रुडी’ आँधी पनि सक्रिय छन् । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार यी दुवै आँधीले तत्काल मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन । ‘साइमन’ का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ । गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको बताइएको छ । (रासस/एएफपी)





