काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकाले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना गर्ने भएको छ ।
नगरपालिकाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो ।
चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णयबमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आआफ्नो परिवारका सदस्य मात्र मनाउने निर्णय गरेको छ । सो निर्णय नमान्नेलाई एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रूपमा पिसिआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभयो । ‘मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १०० रुपियाँ जरिवाना गरी दुई वटा माक्स उपलब्ध गराउने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामग्रीका पसलले आफ्नो पसलअगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दुरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले निर्णय गरेको छ ।
अनधीकृत रूपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन–२०७७ बमोजिम जरिवाना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने जनाइएको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन निषेध गरेको छ ।
उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुराँ, चिया पसल बन्द गर्न, सटर, ढोकाअगाडि सामान राखेर बिक्री–वितरण गर्न, स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ ।