महेश रिजाल, भालुबाङ (दाङ) ।
रसुवा बाढीमा भारतको आसाम कार्बिआङलोङका मजदुर पनि परेका छन् । रसुवाका विभिन्न हाइड्रोपावर कम्पनीमा १२ मजदुर समावेश भएको थाहा लागेको हो ।
उनीहरूमध्ये एक जना सोमेश्वर नारझारी नामक युवक विनाशकारी बाढीमा परे पनि शकुसल बाच्न सफल भएका छन् । उनी अहिले आफ्नै घर कार्बिआङलोङ जिल्ला फर्कन सफल भएका छन् ।
नारझारीसँगै काम गर्ने खतुपुर्ण बर्मा र मन्त्री बसुमतारी नाम गरेका दुई युवकको पहिचान खुले तापनि दुवै जना अहिलेसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
सोही बाढीमा परेर बेपत्ता भएका अन्य नौ जना कार्बिआङलोङ जिल्ला लाङहिन डएडाम गाउँँका मजदुरहरू रसुवा भोटेकोशी क्षेत्रस्थित जलविद्युत् परियोजनामा श्रमिकका रूपमा कार्यरत थिए ।
श्रमिकमध्ये सोमेश्वर नारझारी घटनास्थलबाट बाच्न सफल भई उहाँको उद्धारपछि काठमाडौँ पुगेर आफ्नो घर आसाम पुगिसक्नुभएको आसामस्थित जागुन जयरामपुरका शिक्षक हिमाखर उपाध्यायले जानकारी गराउनुभयो ।

